काठमाडौं,१० वैशाख । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरले भूकम्प गएको चार वर्ष पुगेकै दिन सामूहिक राजीनामा दिने घोषणा गरेका छन् । भूकम्पपछिको पुनर्निर्माणमा जुटेका इन्जिनियरले भत्ता लगायतका सेवा सुविधा उपलब्ध गराउनुपर्ने आफूहरुको माग सरकारले सुनुवाई नगरेको भन्दै सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन । चार वर्षअघिको विनाशकारी भूकम्प गएकै दिन बिहिवार देशभर विभिन्न कार्यक्रम भईरहँदा पुनर्निर्माणमा जुटेका इन्जिनियरले भने सरकारले आफूहरुको माग सुनुवाई नगरेको भन्दै काठमाडौंमा पत्रकार सम्मेलन गरी सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।

भत्ता लगायतका सेवा सुविधा उपलब्ध गराउन गर्दै आएको माग नौं महिनासम्म पनि सरकारले सुनुवाई नगरेपछि ३२ जिल्लामा पुनर्निर्माणमा जुटेका इन्निनियरहरु सामूहिक राजीनामा दिन बाध्य हुनु परेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हक हित संरक्षण समितिका अध्यक्ष अविनाश अमरले जानकारी दिए ।

प्राधिकरणका इन्जिनियरले विगत नौं महिनायता कटौति गरिएको भत्तालगायतका सेवा, सुविधा उपलब्ध गराउन सरकारसँग माग गर्दै आन्दोलन गर्दै आएका थिए । तर त्यसको सुनुवाई नभएपछि बाध्य भएर राजीनामा दिनु परेको समितिका अध्यक्ष अमरको भनाई छ । सरकारले माग सम्बोधन गरे पुनर्निर्माणको काममा पुन ः फर्कने प्रतिवद्धता पनि समितिले जनाएको छ ।
समितिमा झण्डै १ हजार ५ सय इन्जिनियर आवद्ध छन् । इन्जिनियरहरुले फागुन २५ गतेदेखि आन्दोलन शुरु गरेका हुन ।