किरण लोहनी
गोरखा, १० माघ । ४ वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालनका लागि चिनियाँ लगानीकर्ताहरुले चासो देखाएका छन् । गोरखकाली सहित बन्द रहेका पाँच उद्योग सञ्चालन गर्ने सरकारको तयारी सँगै चिनियाँ लगानीकर्ताले रबर उद्योग सञ्चालनमा चासो देखाएका हुन् ।
एक महिनाको अवधीमा दुईवटा छुट्टाछुट्टै टोलीले रबर उद्योगको भ्रमण गरिसकेको छ । एक महिनाअघि चिनियाँ सरकारी टोलीले उद्योगको भ्रमण गरेको थियो । भ्रमणका क्रममा उनीहरु उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सम्पर्कमा पनि पुगेका थिए । तर कुनै औपचारिक छलफल भने नभएको मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलले बताए । ‘पहिले उद्योग बनाइ दिएकाहरुको टोली आएको थियो, त्यसमा चिनियाँ सरकारी अधिकारीहरु थिए’ उनले भने, ‘तर उक्त पक्षसँग मन्त्रालयको तर्फबाट कुनै औपचारिक छलफल भएको छैन ।’ मंगलवार चीनका नीजि लगानीकर्ताहरुको अर्को समूहले पनि गोरखाको मझुवा देउरालीस्थित रबर उद्योगको अध्ययन गरेको छ । झण्डै २ घण्टा लगाएर उद्योगको भ्रमण गरेका उनीहरुले प्राविधिक पक्षमा बढी चासो दिएको उद्योगका कर्मचारीहरुले बताएका छन् । ‘रबर उद्योगको अहिलेको प्रविधि चीनमा २० वर्षअघि नै फेज आउट भैसकेको रहेछ’ चिनियाँ टोलीको सहयोगका लागि रबर उद्योग आएका भाषा अनुवादक दिनेश खनालले भने, ‘तर अहिलेकै अवस्थामा पनि चलाउँन सकिन्छ भनेर उनीहरुले आन्तरिक छलफल गरेका थिए ।’ ३ सिफ्टमा उद्योग चलाउँदा मासिक ६ हजारसम्म टायर उत्पादन गर्न सकिने उक्त टोलीको बुझाई रहेको खनालले जानकारी दिए । रबर उद्योगको भ्रमणपछि चीनका ब्यवसायीको टोलीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवसँग छलफल गर्ने प्रयास गरेपनि मन्त्रीको कार्यब्यस्तताका कारण सम्भव नभएको खनालको भनाई छ । अहिले लगानीकर्ताहरुले मात्रै भ्रमण गरेपनि छिट्टै प्राविधिकहरुको टोली सहित फेरि रबर उद्योग हेर्ने चिनियाँ लगानीकर्ताहरुको इच्छा रहेको उनले बताए ।
उद्योगमन्त्री यादवका स्वकीय सचिव सन्तोष विष्टले भने चिनियाँ मात्रै नभै नेपाली ब्यवसायीहरुले पनि उद्योग सञ्चालनमा चासो देखाएको बताए । ‘गोरखकाली मात्रै होइन, अरु ४ वटा उद्योग पुनः सञ्चालनका लागि सरकार सैद्धान्तिक रुपमा सहमत भएको छ, कुनै लिखित निर्णय चाहिँ भएको छैन’ उनले भने, ‘उद्योग चलाउने भएपछि लगानीकर्ताहरुले चासो देखाउनु स्वाभाविक हो ।’ तर कुन मोडलमा उद्योग चलाउने भन्न ेबारे टुंगो लागि नसकेको उनले बताए । उद्योग सञ्चालनबारे छिट्टै सार्वजनिक सूचना जारी गर्ने तयारी भएको पनि विष्टले जानकारी दिए । ‘सार्वजनिक सूचना मार्फत लगानीका लागि आब्हान गर्ने तयारी छ, त्यतिबेला चिनियाँ मात्रै होइन, अमेरिका, भारत जताको लगानीकर्ता पनि आउँन सक्छन् ।’ अहिले भने नीजि क्षेत्रलाई दिने, सार्वजनिक नीजि साझेदारीमा चलाउने वा सरकारले मात्रै चलाउने भन्नेबारे छलफल भैरहेको विष्टको भनाई छ ।
सरकारले पहिलो चरणमा पाँचवटा रुग्ण उद्योग सञ्चालनको तयारी गरेको हो । अर्थ मन्त्रालयले हेटौँडा कपडा उद्योग, बुटवल धागो कारखाना, जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग र वीरगञ्ज चिनी उद्योग निजी क्षेत्रलाई सञ्चालन गर्न दिन उद्योग मन्त्रालयलाई सहमति दिइसकेको स्रोतले जानकारी दिएको छ । तर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले भने उद्योग सञ्चालनको मोडालिटीबारे छलफल जारी रहेको बताए । ‘ मोडालिटीहरुबारेछलफल भैरहेको छ । उद्योग सञ्चालन गर्नुपर्छ, आयात घटाउनुपर्छ, रोजगारी सिर्जना गर्नुपर्छ भन्ने उद्योग मन्त्रालयको मान्यता हो ।’ प्रवक्ता भट्टराईले भने ।