चितवन, २ पुष । दिनहुँजसो चितवन जिल्लामा सवारी दुर्घटना भइरहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले पाँच महिनामा सवारीसाधन दुर्घटनाबाट ७४ जनाको मृत्यु भएको जनाएको चितवनपोष्टमा केशव भट्टराईले खबर लेख्नुभएको छ ।

गत साउनदेखि मंसिर महिनासम्म १३५ सवारीसाधन दुर्घटना भएको प्रहरीले जनाएको छ । जसमा साउन महिनामा २२ सवारी दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको थियो । ८७ जना घाइते भएका थिए ।

यस्तै, भदौमा कूल ३१ दुर्घटनामा १५ जनाले ज्यान गुमाए भने ९१ जना घाइते भए । असोजमा ३२ दुर्घटनामा १३ जनाको मृत्यु भयो । ५३ जना घाइते भए । यस्तै, कात्तिक महिनामा २४ सवारी दुर्घटनामा ११ जनाको मृत्यु भयो । ५९ जना घाइते भएका थिए । मंसिर महिनामा २६ सवारीसाधन दुर्घटना हुँदा १४ जनाको ज्यान गएको थियो भने ७४ जना घाइते भए ।

चितवनका ट्राफिक प्रहरी प्रमुख वेदप्रसाद गौतमका अनुसार पाँच महिनामा ७४ जनाको मृत्यु भएको छ भने ३१७ जना घाइते भएका छन् ।

सो अवधिमा सबैभन्दा बढी. मोटरसाइकल दुर्घटना भएका छन् । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनाबाट २८ जनाले ज्यान गुमाएका छन् । बस दुर्घटनाबाट १७ जनाले ज्यान गुमाएका छन् । यस्तै, ट्रकरट्यांकरबाट चार जना, जिप÷कारबाट तीन जनाको मृत्यु भएको ट्राफिक प्रमुख गौतमले जानकारी दिए ।

प्रहरी निरीक्षक गौतमका अनुसार पाँच महिनाको अवधिमा १७ पैदलयात्रुको मृत्यु भएको छ । जसमा मोटरसाइकलको ठक्करबाट ५ जना र अन्य सवारीसाधनको ठक्करबाट १२ जनाको मृत्यु भएको छ ।

यस्तै, दुर्घटनामा ५ जना साइकलयात्रीले ज्यान गुमाएका छन् । जसमा मोटरसाइकलको ठक्करबाट ३ र अन्य सवारीसाधनको ठक्करबाट २ जनाले ज्यान गुमाएको प्रहरी निरीक्षक गौतमले जानकारी दिए ।

उनले जाडोयाम सुरू भएसँगै कुहिरो र तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना बढेको बताउँदै सर्वसाधारण मर्निङवाकमा निस्कँदा टल्किने पोसाक लगाउन र सबै मोटरसाइकल चालकले गति घटाउन प्रमुख गौतमले आग्रह गरेका छन् ।