काठमाडौ,१२ भदौ । बहुपक्षीय प्राबिधिक तथा आर्थिक सहयोगकालागि बंगालको खाडीको प्रयास ९बिमस्टेक०को चौथो शिखर सम्मेलन लक्षित सुरक्षार्थ प्रयोजनका लागि ४ वटै सुरक्षा निकायबाट करिव १८ हजार सुरक्षाकर्मी परिचालन हुँदैछन् ।
विमस्टेकको वर्तमान अध्यक्ष राष्ट्र नेपालले पहिलो पटक आयोजना गर्ने यो सम्मेलनलाई मध्यनजर गर्दै सरकारले नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र र राष्ट्रिय अनुसन्धान विभागबाट जनशक्ति परिचालन गर्दैछ ।आजको नेपाल समाचारपत्रमा खबर छ ।
सम्मेलनस्थल होटल सोल्टीमा अहिले सेनाको कमान्डमा सुरक्षाकर्मी परिचालन भइसकेका छन भने राजधानी उपत्यकाको सुरक्षा ब्यवस्था सोमबार बिहानबाट कडा बनाइएको छ ।
नेपाल–भारत खुल्ला सिमानाका कारण सुरक्षामा असहजता नआओस भन्ने हेतुले नेपाल भित्रिने मुख्य नाकामा समेत सुरक्षा निगरानी बढाइएको छ ।
सम्मेलन सुरक्षाको ‘फ्रन्ट लाइन’मा सेना खटिदैछ भने सबै सदस्य राष्ट्रका सरकार प्रमुख र राष्ट्र प्रमुखको सुरक्षा जिम्मेवारी समेत सम्हाल्दैछ । सुरक्षाको दोस्रो र तेस्रो घेरामा क्रमशः नेपाल प्रहरी, सशस्त्र र अनुसन्धानको टोली परिचालन हुँदैछ ।
आवश्यकता अनुसार सेना सम्मेलन सुरक्षार्थ खटिएको बताउँदै सैनिक प्रवक्ता एवं सहायक रथी गोकुल भण्डारीले भन्नुभयो–‘यस अघिका अन्तर्राष्ट्रिय सभा सम्मेलनको प्रमुख सुरक्षा नेपाली सेनाले गरेको थियो, यसपटक पनि विशिष्ट पाहुनाको मुख्य सुरक्षा सेनाले गर्दैछ ।’ विमस्टेकका लागि सेना कति खट्दैछ भन्ने संख्या यकिन नभएपनि करिव ५ हजारका हाराहारीमा सैनिक परिचालन हुने सैनिक मुख्यालयले जनाएको छ ।